अरिँगालको टोकाइबाट रुकुम पश्चिममा एक व्यक्तिको मृत्यु


रुकुम  – रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।

३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आज आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको बाफुखोलामा अरिँगाल झार्न गएका सुनारलाई अरिँगालले टोकेको थियो।

३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए।

सुनारको शरीरमा अरिँगालले टोकेका ५३ वटा घाउ देखिएका छन्। त्यसकारण सुनारलाई ५३ वटा अरिँगालले टोकेको अनुमान गरिएको विश्वकर्माले बताए। सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए।

प्रतिक्रिया