आजबाट काठमाडौं उपत्यकाभित्र ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान शुरु


काठमाडौं – काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान थालेको छ ।

काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि प्रभावकारी पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्ने अभियान सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान सुरु गरिएको छ ।

अभियानको अवसरमा आज बिहान आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । सवारी चालकहरुलाई धैर्य भई हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन आग्रह गरे । अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया