आणविक हतियार बढाउने उत्तर कोरियाको तयारी
काठमाडौं –उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई विस्तार गर्ने किम जोङ उनको योजनालाई त्यहाँको संसद्ले स्वीकृत गर्न लागेको छ । उत्तर कोरियालीहरूले किमको आणविक हतियार विस्तारलाई समर्थन गरेका छन् ।
उत्तरको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार, उत्तर कोरियाको संसद् सुप्रिम पिपुल्स एसेम्ब्लीका अध्यक्ष चो र्योङ हेले किमका हजुरबुवा र बुवाको प्रतिमामा माल्यार्पण गरेर संसदीय सत्र आरम्भको तयारी गरेका छन् ।
उनी र अन्य अधिकारीहरूले वर्कर्स पार्टीको महाधिवेशनले लिएका निर्णयको कार्यान्वयनको जिम्मेवारी तथा कर्तव्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उत्तर कोरियाली संसद्का सत्रहरू छोटा हुन्छन् । वर्षमा एकपटक बस्ने संसद्ले बजेट पारित गर्ने, कर्मचारी सरुवाबढुवालाई औपचारिकता दिने अनि किम र सत्तारूढ दलले निर्धारण गरेका नीतिगत प्राथमिकतालाई स्वीकृत गर्ने काम गर्छ ।
पार्टी महाधिवेशनका क्रममा किमले एसियामा अमेरिकी साझेदारका साथै अमेरिकालाई नै तारो बनाउने गरी सैन्य हतियार निर्माणमा जोड दिन आह्वान गरेका छन् ।
एजेन्सी