

सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताविनै सञ्चालन

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ । प्रसासनको अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिविनै सञ्चालन भइरहेको फेला परेका छन् । फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेको समेत फेला परेको छ । फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जोसुकैले बेचिरहेको समेत फेला परेको छ ।
धेरैजसो निजी फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमीले सञ्चालन गरे पनि उनीहरूले अरूलाई नै राख्ने गरेको पाइएको छ । मेलम्ची, चौतारा, खाडीचौर, बाह्रबिसे जस्ता मुख्य बजारमा समेत दर्ता नगरी र अर्काको अनुमतिपत्र भाडामा लिएर समेत औषधि पसल सञ्चालन भइरहेको पाइएको छ । यस्तो तथ्य फेला पर्दा समेत प्रसासनले कार्वाही नगरेको स्थानीयको आरोप छ । स्थानीय रिता सापकोटा भन्छिन्, ‘नियमविपरित सञ्चालनमा रहेका औषधि पसलहरू र अनुमतिपत्र भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रसासनले कारवाही गर्न सकेको छैन् ।’
फार्मेसी व्यवसाय गर्ने व्यक्तिले नेपाल फार्मेसी परिषद्ले लिने लाइसेन्स परीक्षामा उत्तिर्ण गर्नुपर्छ । विनालाइसेन्स औषधि पसल सञ्चालन गरे औषधि ऐन ०३५ र नेपाल फार्मेसी परिषद् ऐन ०५७ ले गैरकानुनी ठहर गर्छ ।
सिन्धुपाल्चोकका धेरैजसो फार्मेसीमा लाइसेन्सप्राप्त व्यक्ति नबसी आफन्त बस्ने गरेका छन् । जथाभावी वितरण हुने एन्टिबायोटिक र औषधिका कारण नागरिकको स्वास्थ्यमा खेलबाड भइरहे पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँग कति निजी फार्मेसी र मेडिकल सञ्चालन छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।
स्थानीय तहका स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलन गरेका छैनन् भने कार्यालयले पनि खोजी नगरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सेवक नेपालले बताए । अवैधानिक मेडिकललाई आफूहरूले सचेत बनाउने काम गरेको नेपालको भनाइ छ ।
बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ । मापदण्ड पूरा नगर्ने र अवैधानिक तवरले सञ्चालन गरिरहेका फार्मेसीले अनुगमन टोली पुगेको सूचना पाउने बित्तिकै सटर लगाएर भाग्ने गरेकाले यसलाई कडाइ गर्ने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए ।

