४७ खर्ब ऋण २० व्यापारिक घरना र केही नेताले लिँदा राज्यको ढुकुटी कमजोर : डा.सिंह


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद डा.अमरेसकुमार सिंहले राज्यको ढुकुटीको धेरै अंश मुलुकका ठूला व्यापारिक घरना र केही दलका केही नेताले ऋण लिएर जोखिम बढाएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफूले देशको मौजुदा अर्थतन्त्र बारे स्वेत पत्र जारी गर्न सभामुखमार्फत माग गरे पनि अर्थमन्त्रीले भने नसुने झैं गरेको बताएका छन् । अनलाईन न्युज सेभेनसँग कुरा गर्दै डा. सिंहले हाल राज्यको ढुकुटीमा करिव ५० खर्ब नेपाली रुपैयाँ रहेपछि ४७ खर्ब ऋण प्रभाह भइसकेको भन्दै त्यस्तो ऋण धेरै जसो सर्वसाधरणको नभएको जिकिर गरेका छन् ।

उनले औद्योगिक घरना, ठूला व्यवसायी र आमनागरिक गरी १८ लाख ऋणी भए पनि करिव एक सय जनाले करिव ३० खर्ब ऋण लिएको र कतिपय व्यक्ति एक्लैले ६० अर्ब लिइसकेको दाबी गरे ।

सांसद डा. सिंहले ६० अर्ब रुपैयाँ त राज्यका २० वटा ठूला व्यापारिक घरनाले लिएको खुलासा गरेका छन् । उनका अनुसार जगदम्बा, ज्योति, सिजी, आइएमई, विशास, गोल्छा, दुगढ, मुरारका, बुद्ध एयर, संघाई, पञ्चकन्या, अग्नी, भाटभटेनी, सम्राट, लक्ष्मी, लक्की, गोल्यान, यति र ह्याचरी गु्रपले मात्र खर्बैं रकम बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका छन् ।

सांसद सिंहले यही तरिकाले आयातको लागि खुल्ला गर्ने हो भने मुलुकको ढु्कुटीले ६ महिनाको मात्र आयात धान्न सक्ने चेतावनी दिएका छन् । उनले यही हिसावले विदेशी सञ्चिति भण्डार घट्दै जाने र आयात बढ्दै जाने र व्यापार घाटा बढ्दै गएमा २ वर्ष भित्र मुलुकको अर्थतन्त्र खराब अर्थतन्त्र भएको मुलुकको पहिलो सूचीमा पर्न सक्ने चेतावनी दिए ।

गत आर्थिक वर्षमा व्यापार घाटा १७ खर्ब २० अर्ब पुगेको भन्दै नेपाल सरकारमाथि आन्तरिक र बैदेसिक गरी १८ खर्ब ऋण देखिएको उनले बताए ।

‘बैंकर र व्यवसायी छुट्याउन सकिँदैन । एउटै व्यवसायी समूहले बैंक, बिमा कम्पनी, पुनर्विमा कम्पनी, लघुवित्त, फाइनान्स कम्पनी, निर्माण व्यवसाय, स्टिल र सिमेन्ट उद्योग तथा ठूला होटल संचालन गरेर देशको मेरुदण्ड रहेको नेपालीको जिविकोपार्जनको आधार कृषि क्षेत्रलाई नाजुक अवस्थामा पुयाएको छ’, डा. सिंहले हामीसँग भने ।

उनले माटोको परिक्षण नहुनु, विउविजन, किटनासक औषधि उपलब्ध नहुनु, मल, सिंचाई र बजार पहुँचको अभाव तथा कृषि क्षेत्रमा बिचौलियाको विगविगी भएको दाबा गरेका छन् ।

प्रतिक्रिया