सुरक्षित स्थान खोज्दै सप्तकोसी प्रभावितले छाडे गाउँ


काठमाडौं – सप्तकोसी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् ।

प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्बिर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।

वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया