


नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोलामा गएराति पुनः पहिरो खसेपछि सवारी आवगमन अवरुद्ध भएको हो ।
पहिरोका कारण गएराति साढे दुई २ बजेदेखि सवारी आवगमन पूर्ण रुपमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।
मौरीखोलामा गत सोमवार राती खसेको पहिरो २३ घण्टा पछि खुलाइएको थियो । वर्षाको कारण सोही ठाउँमा पुनः पहिरो खस्दा आवगमन बन्द भएको हो।
अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यता, धादिङको निमार्णाधीन सुरुङमार्ग नजिकै खसेको पहिरो पन्छ्याइएको छ । जसका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

