

नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’ नाम

दैलेख – करिब ५० वर्षअघि रुमगाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितको मृत्यु भए फलाँटेमा किन जलाउने रु बालटारमै दाहसंस्कार गर्न किन नपाउने रु भन्दै आएका थिए ।
बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे । उनले यो विषय उठाए पनि समाधान भने भएको थिएन । अभियान पूरा नहुँदै उनको ४१ वर्षको उमेरमा मृत्यु भयो ।
२७ जेठ ०२९ मा मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छाअनुसार बालटारमा शब जलाउन लिएर गए । ठकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिएनन् पनि ।
ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका पुराना मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए ।

