

‘संविधानको हत्या हुँदा हामी हाँस्न सक्दैनाैं’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् ।
तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने ।
प्रचण्डले केही दिनअघि केपी ओलीले जोकर बनेर मानिसहरूलाई हसाउँदै हिँडेको बताएका थिए। त्यसको जवाफमा शनिबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै आफूले जनतालाई हसाउँदा पनि केही व्यक्तिलाई पीडा भएको टिप्पणी गरेका थिए।
ओलीको सोही भनाई जवाफ दिँदै प्रचण्डले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको हत्यापछि केपी ओली हाँसेर बसेको टिप्पणी गरे । ‘अहिले देश संविधानको हत्या भएको । हामी हाँस्न सक्दैनौं’, उनले भने ।
‘हामी जन्त जानेबेलामा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने केपी ओली होइनौँ। हामी मलामी जाँदा चिन्ता गरेरै जान्छौँ। जन्त जाँदा हामी हाँस्ने गरेरै जाने गर्छौँ। हामी त्यस्ता स्वाभाविक मान्छे हौँ। उहाँ अस्वभाविक हुनुभएको छ। त्यसकारण हामी गम्भीर स्थितिमा छौँ। हाम्रो आन्दोलन जुझारु हुन आवश्यक छ।’

