अर्थमन्त्री प्रकरण : सभामुखलाई प्रतिवेदन बुझाउने तय, आजै संसदमा पेश गर्ने


काठमाडौं – बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम गठन भएको संसदीय छानबिन समितिले शुक्रबार दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने तय भएको छ । प्रतिवेदन बुझाएसँगै आजकै बैठकमा प्रतिवेदन पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जनाएको छ ।

करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । जसको समयावधि बिहीबार सकिएको थियो ।

समिति निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध लागेको आरोप भने प्रमाणित हुन सकेन । सो समितिलाई सुरूमा १० कार्य दिन दिइए पनि तोकिएको समयमा आवश्यक काम नसकिएपछि थप ७ दिन म्याद थपिएको थियो ।

यसबीचमा समितिले अर्थमन्त्रालयका सचिव, महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, राजश्व विभागका महानिर्देशक लगायतसँग बयान लिएको थियो । यस्तै, अर्थमन्त्री शर्मासँग समेत साढे ३ घन्टा लामो बयान लिइएको थियो । तर, अर्थमन्त्रालयका सम्पूर्ण प्रतिनिधिसँग लिइएको बयानका क्रममा बजेट बनाउँदा लागेको आरोप पुष्टि गर्ने कुनै आधार भेटिएन ।

यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । तर, त्यसमा समेत अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिए जनाईएको छ ।

प्रतिक्रिया