नेपाल र बंगलादेशका मौसमी सूचना आदान-प्रदान गर्ने सहमति


काठमाडौं – नेपाल र बंगलादेशबीच मौसमी सूचना आदान प्रदान गर्ने सहमति भएको छ । बंगलादेश र नेपालका मौसमी राडरहरुको सूचना एक अर्कालाई आदान प्रदान गर्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने निर्णय भएको हो ।

यसअनुसार जल तथा मौसम सम्बन्धी तथ्यांकहरू अब नेपाल र बंगलादेशले नियमित आदान प्रदान गर्नेछन् । काठमाडौंमा बिहीबार बसेको नेपाल र बंगलादेशबीचको जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठकमा यस्तो सहमति भएको हो। जलस्रोतको उपयोग गर्ने र बाढी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको छ ।

बैठकले नेपाल-बंगलादेश जलस्रोत समितिको सहसचिवस्तरीय समिति पनि गठन गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए।उनका अनुसार बैठकमा जलवायु परिवर्तनको असर कम गर्ने विषयले पनि बैठकमा स्थान पाएको छ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राईले नेतृत्व गरेका थिए भने बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका सचिव कबिर विन अनवार सहभागी छन् । करिब एक दशकपछि नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक बसेको हो । सन् २००८ मा यो समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया