


अमेरिकी सहायक विदेश मन्त्री लुले भोलि प्रधानमन्त्री देउवालाई भेट्ने

काठमाडौं – आज काठमाडौं आउन लागेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्।
बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपराह्न साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। उनी काठमाडौंमा हुने एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ।
लुको काठमाडौँ भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन्। काठमाडौँमा रहँदा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्। उनको अरू भेटघाटबारे खुलाइएको छैन।
नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० बारे बहस जारी रहेका बेला अमेरिकी उच्च अधिकारी काठमाडौँ आउन लागेका हुन्। लु यसअघि एमसीसी पारित हुनुभन्दा अघि गत मंसिरमा नेपाल आएका थिए। त्यतिबेला उनले नेपालमा महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए।
वासिङ्टन फर्केपछि पनि उनले प्रमुख दलका नेताहरूलाई फोन गरेका थिए। मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने पत्र पठाउने निर्णय गरिसके पनि अहिलेसम्म परराष्ट्र मन्त्रालय पत्राचार गरेको छैन।

