
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क
चितवन – भरतपुर अस्पतालले आजदेखि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकटबापतको शुल्क नलिने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले लिँदै आएको रु ३० शुल्क आजदेखि नलिने निर्णय गरेको छ ।
अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो । यसबाट बिरामी प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ । उनले भने, ‘टिकटका लागि पालो कुर्नुपर्ने समस्याको केही हदसम्म समाधान हुन्छ ।’ पछिल्ला वर्षहरुमा अस्पतालले बिरामीको उपचारमा सहयोग हुने गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै आएको उनले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले महिला र बीमामार्फत आउनेहरुलाई यसअघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको जानकारी दिए ।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उनको भनाइ छ । अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् ।



कागजपत्र |
