

कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुन्छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन्।
शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरेका हुन्।
उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे। देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए।
‘आज देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत,परिवर्तनकारी शक्ति र सबभन्दा सबल शक्तिको रुपमा, सबभन्दा बलियो शक्तिको रुपमा पुष्पलालले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ। म यस पार्टीको अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन’ उनले भने, ‘नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने, फेरि आज संकल्प दोहार्याएको छु।’
नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाए। उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए।
‘कांग्रेस धेरै पटक सत्तामा आयो। भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो। भीमदत्त पन्तलाई कांग्रेसका सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो। त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ’ उनले भने, ‘विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ। दुर्गानन्द झा, कांग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए। उनले हानेका थिए थिएनन् आफ्नो ठाउँमा छ, हानेका थिए भने पनि परिवर्तनको लागि हानेका थिए। तर कांग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन। उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन।’
कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएपनि कांग्रेसले एउटा विज्ञप्तिमार्फत निकाल्न नसकेको बताए। उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि कांग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको आरोप लगाए।
‘कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएको थियो काँग्रेसले त्यो कुरा गरेन। म आज कसैको आलोचना गर्न चाहन्न तर सत्ता स्वार्थका लागि, राजनीतिक स्वार्थका लागि यस्ता परिस्थिति पनि देखिए जहाँ,आफ्नै पार्टीका आदरणीय नेताहरुलाई विधिवत फैसला सुनाएर फाँसीको सजाय दिएर मारियो’ उनले भने, ‘त्यसकोविरुद्ध एउटा वक्तव्यसमेत दिन सकेन। प्रतिक्रिया दिनसम्म सकेन । त्यो नेपाली कांग्रेसले गर्न नसकेको कुरा दुःख र शर्मनाक विषय हो।’
गिरिजाप्रसाद कोइराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागेको दाबी गरे।

