प्रतिनिधि सभाबाट नागरिकता विधेयक बहुमतले पारित


काठमाडाैं – नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे प्रस्ताव बहुमतले पारित भएकाे हाे । आज शुक्रवार दिनभरकाे छलफलपछि नागरिकता ऐन २०६३ लाई संशाेधन गर्न बनेकाे विधेयक प्रतिनिधि सभाले बहुमतले पारित गरेकाे हाे ।

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।

विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवारिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।

अब याे विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । याेसँगै प्रतिनिधि सभाको अर्काे बैठक यही साउन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएकाे सभामुख अग्निप्रसाद सापकाेटाले बताए ।

प्रतिक्रिया