

नेपाल प्रेस युनियनको महाधिवेशन आज सुरु, उद्घाटनका लागि प्रधानमन्त्री देउवा आउँदै

हेटौंडा — नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले बिहान ११ बजेबाट सुरु हुने महाधिवेशनको तयारी पूर भएको जनाइएको छ ।
महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने जनाइएको छ ।
महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताएका छन् ।
महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची रहेको छ । उक्त महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई बागमती प्रदेशको राजधानी हेटौँडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जस्थितका होटलमा राख्ने प्रबन्ध र आवतजावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको महाधिवेशन आयोजक आवास समितिका संयोजक रुपेश दुलालले जानकारी दिए ।
नयाँ नेतृत्वका लागि कांग्रेस संस्थापन पक्षले अनिता विन्दुलाई चुनावी मैदानमा उतार्ने तयारी गरेको छ भने अर्का चर्चित पत्रकार एवं अघिल्लो महाधिवेशनका पराजित उम्मेदवार शिव लम्सालले पनि उम्मेदवारीको घोषणा गरेका छन् ।

