
पोखराको मेयरको सम्पत्ति नै आधा अर्ब बढी, ठाउँ-ठाउँमा घडेरी
पोखरा- पोखरा महानगरका मेयर धनराज आचार्यले ५० करोडको सम्पत्ति भएको खुलेको छ। मेयर आचार्यले सार्वजनिक विवरण गरेको विवरणमा पोखरा र काठमाडौँमा ४ ओटा घर र जग्गा भएको जनाएका छन्। आचार्यकी श्रीमती पुष्पाकुमारीको नाममा २ ठाउँमा घर जग्गा भएको विवरणमा उल्लेख छ।
पोखरा महानगरपालिका-९ मा २ सय ८९ वर्गमिटर जग्गामा उनको २ घर छन्। जसको प्रचलित मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको छ। श्रीमती पुष्पाकुमारीकै नाममा काठमाडौँ सीतापाइलामा ९२५ वर्गफिटको २ कित्ता जग्गामा उनको घर छ। जसको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको मेयर आचार्यले खुलाएका छन्।
पोखरा-११ मा आफ्नै नाममा २ कित्ता जग्गा र घर छ। कति क्षेत्रफल जग्गा हो भन्ने नखुलाएका मेयर आचार्यले त्यसको मूल्य साढे ३ करोड रुपैयाँ पर्न सार्वजनिक गरेका छन्। दोलखामा ५८ रोपनी ७ आना जग्गा मेयर आचार्यले खरिद गरेका छन्।
जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले खुलाएका छन्। नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ।
२ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको उनले खुलाएका छन्। यसरी कुल ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन्।
हाल ऋणबाहेक ४० करोड ७६ लाख ४५ हजार बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका छन् । यस्तै मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा छ।
उनले उपमेयर तथा वडाध्यक्षहरुलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न भनेका छन्। मेयर निर्वाचितको ६० दिनभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका उनी गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनतर्फ एकीकृत समाजवादी पार्टीबाट मेयर चुनिएका हुन्।



कागजपत्र |
