
आज साँझदेखि मनसुन कमजोर हुने
काठमाडौं- प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र प्रदेश–१का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौंका केही स्थानमा गएराति भारी वर्षा भए पनि आज दिउँसो भने त्यो सम्भावना नरहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन्। ‘आज दिउँसो काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंमा आज भारी वर्षा हुँदैन,’ उनले भने।
विभागले आजराति देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्क रहन विभागले आग्रह गरेको छ।
मौसमविद् श्रेष्ठले केही दिनयता देशका विभिन्न भागमा भारी वर्षा भए पनि यो आज साँझबाट क्रमश घट्दै जाने बताए । ‘आज दिनभर वर्षाको सम्भाना छ। आज साँझबाट वर्षाको सम्भावना कमजोर हुँदै जानेछ,’ उनले भने, ‘मनसुन साउथतर्फ सर्दै जाने भएकाले मनसुन कमजोर हुँदा पानी पनि कम पर्ने हुन्छ।’



कागजपत्र |
