


चन्द्रागिरि नगरपालिकाका नागरिकले फोहोर ६ वटा झोलामा संकलन गर्नुपर्ने

काठमाडौँ- काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोरलाई ६ ठाउँमा विभाजन गरी संकलन गर्न स्थानीय नागरिकलाई अनुरोध गरेको छ। मंगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटा झोलामा राख्नुपर्ने नियम बनाएको हो।
फोहोर राख्ने झोला वडा कार्यालय र टोल सुधार समितिमार्फत निःशुल्क पाउन सकिने नगरपालिकाले जनाएको छ। ‘शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ’, चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ।’
फोहोरलाई ६ वटा ठाउँमा वर्गीकरण गर्न आज साउन ४ गते सुरु गर्नुपर्ने बताइएको छ। आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्नेलाई जरिवाना हुने पनि नगरपालिकाले चेतावनी दिएको छ।
कालो झोला – कुहिने फोहोर
रातो झोला – सिसा र सिसाजन्य फोहोर
हरियो झोला – प्लास्टिकजन्य फोहोर
सेतो झोला – कागजजन्य फोहोर
नीलो झोला – फलामलगायत कबाडीजन्य फोहोर
पहेँलो झोला – स्यानिटरी प्याड, डाइपर लगायत फोहोर

