


आजको मौसम : यी क्षेत्रमा अत्यधिक भारी वर्षा, बाढी पहिरोको जोखिम

काठमाडौं- देशका केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन विभागको आग्रह छ।

