
एमालेबाट निर्वाचित जनप्रतिनिधिको गाडीको ठक्करले सेनाका अमल्दारको मृत्यु
भरतपुर– भरतपुर महानगरपालिका-१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ। मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग. २ च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका-१५ शीतलचोकनजिक विपरीत दिशाबाट आउँदै गरेको बा. ३३ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका-१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन्। वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। पक्राउ परेका गुरुङ हालै नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।



कागजपत्र |
