काठमाडौँ महानगर : आजबाट कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन 


काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ। यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ।

महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ। तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने छ। एक महिनाअघि नै सूचना जारी गरी महानगरले फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।

पटकपटकको सूचनालाई बेवास्ता गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिमानासमेत गरिने जनाइएको छ।

पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै गएको छ। नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले पटकपटक अवरोध गर्दा फोहोर व्यवस्थापनमा सहजताका लागि महानगरले नयाँ अभ्यास सुरु गरेको हो।

 

प्रतिक्रिया