प्रतिनिधिसभा विघटनविरुद्ध ७५३ स्थानीय तहमा प्रदर्शन गर्दै कांग्रेस


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्या देवि भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रमुख प्रति पक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध बिभिनन कार्यक्रम प्रदर्शन गर्दै आएको छ ।

यसअघि कांग्रेसले पुस १३ गते १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवाले आज ७५३ वटै स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको सभापति देउवाले पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको माग भने गरेको छैन। उसले सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति लिएको छ। अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको तयारी छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम गरेको दाबी गरेका छन्।

प्रतिक्रिया