

नेपालमा पास भएको एमसीसीबारे अमेरिकाको अभिव्यक्तिमाथि चीनकाे खण्डन

काठमाडाैं – नेपालको संसदबाट पारित भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा चीन र अमेरिकाबीच आरोप प्रत्यारोप चलेको छ ।
नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले चीनको अवरोधका बीच नेपालले एमसीसी पास गरेको अभिव्यक्ति दिएपछि दुई मुलुकबीच आरोप प्रत्यारोप शुरू भएको हो । बुधवार प्रस्तावित राजदूत थम्पसनले चीनले नेपालमा एमसीसी पारित हुन नदिन चलखेल गरेको आरोप लगाएका थिए ।
थम्पसनले अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिने क्रममा चीनले चलाएको दूष्प्रचारका बीच पनि नेपालको सदनले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको उल्लेख गरेका थिए ।
चिनियाँ दूतावासले उनको भनाइलाई ‘आधारहीन’ भएको बताएको छ । शुक्रवार चिनियाँ दूतावासका प्रवक्ताले जारी गरेको ‘प्रेस नोट’मा उक्त भनाइको खण्डन गरिएको छ ।
चिनियाँ दूतावासले एमसिसीबारे नेपालमा चर्को बहस भएको तर संसदले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको उल्लेख गर्दै यसमा चीनको भूमिका केही नरहेको प्रष्ट पारेको छ । उक्त व्याख्यात्मक टिप्पणीमा नेपालको कानून एमसीसीभन्दा माथि हुने व्यवस्था गरेको उल्लेख गरिएको छ ।
थम्पसनको अभिव्यक्तिले चीनको मात्रै नभएर नेपाल र नेपालीको पनि अपमान गरेको भन्दै चीनले भनेको छ ‘वास्तवमा प्रस्तावित राजदूतको अभिव्यक्ति नै दुष्प्रचार हो, चीन यसको खण्डन गर्दछ ।’
दूतावासले अन्तर्राष्ट्रिय सहायता लिँदा परस्पर सम्मान र समानताको आधारमा लिनुपर्ने उल्लेख गरेको छ । चीनले सहायता आदन–प्रदान गर्दा सम्बन्धित देशको सार्वभौमसत्ता र नागरिकको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा कूटनीतिक दबाब हुनु नहुनेमा जोड दिएको छ ।

