कोरोना केन्द्र बन्यो मोरङ कारागार, १९ कैदीमा कोरोना पुष्टी, १ को मृत्यु


विराटनगर — जिल्ला कारागार मोरङका कैदीबन्दीमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता फैलिएको कोरोनाबाट १९ जना कैदीलाई कोसी अस्पताल भर्ना गरिएको थियो ।

भर्ना गरिएका मध्ये १ जनाको मृत्यु भएको र १८ जनाको उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल पुर्‍याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ ।

‘एकसय भन्दा बढी डिग्री ज्वरो आएका विरामीलाई अस्पताल भर्ना गरिएको हो, भित्र बिरामीको संख्या धेरै छ’ कारागार स्रोतले भन्यो,’यहाँको क्षमता तीन सय हो, कैदीबन्दी एक हजार ८७ जना छन् ।’

बिहीबार अस्पताल भर्ना भएका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । अब भर्ना भएका सबैको पीसीआर गर्ने तयारी भइरहेको बताए । बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

कारागारमा हाल एक हजार ८७ जना कैदी बन्दी छन् । कारागारको क्षमता भने महिला पुरुष गरी तीन सय जना हो ।

 

प्रतिक्रिया