

उपसभामुखको निर्वाचन : भुसाल र भट्टराई कसको सम्भावना बलियो?

काठमाडौँ- लामो समय रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख पद आज पूर्ण हुँदैछ। जसका लागि आज निर्वाचन हुँदैछ। उपसभामुख छान्न शुक्रबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा मतदान प्रक्रिया हुने कार्यसूची रहेको छ।
जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।
शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित एमाले सांसद हुन्। हिजो उम्मेदवारी दिने अन्तिम घडीमा एमालेले तत्काल निर्णय गरेर भट्टराईलाई उम्मेदवार बनाएको हो।
यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्।
भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् ।
संसद्मा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग निश्चित छ।
यस्तो छ अंक गणित
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्।
यस्तै एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।
सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन्। चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसकाे मत नै जितका लागि पर्याप्त छ।
अनिर्णित लोसपा
१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन। लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने बताइन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

