बागमती प्रदेश सरकारद्वारा २१ विधाका पदक प्रदान


मकवानपुर – बागमती प्रदेश सरकारले मकवानपुरका तीन सञ्चारकर्मीलाई प्रदेशदूत पदकसहित विभिन्न २१ विधामा सम्मान प्रदान गरेको छ । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पद वितरण समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ती पदक वितरण गरेका हुन् ।

मकवानपुरका अग्रज पत्रकार कौशल पाण्डे, प्रताप विष्ट र पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्णसारु मगरलाई प्रदेश प्रमुख शर्माले पदक लगाइनुका साथै प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मानपत्र प्रदान गरे । प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो ।

उक्त निर्णयानुसार व्यक्ति तथा सङ्घसंस्थालाई पदक प्रदान गरिएको हो । प्रदेश सरकारले नेत्र स्वास्थ्य विशेषज्ञ डा सन्दुक रुइत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तित्व तथा सात वटा संस्थालाई पनि विभिन्न सम्मान प्रदान गरेको छ । प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम र बद्रीप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिएको छ ।

त्यस्तै पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र मकवानपुरकै इन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिएको छ । पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यलाई विकास सेवी सम्मान र मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्राप्त गर्नुभएको छ ।

संस्थागतरूपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्राली र मकवानपुरको सिमलथली एग्रो फार्म बाख्रा फार्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवर्द्धन सम्मान प्रदान गरिएको छ ।

पदक तथा सम्मान वितरणपछि मुख्यमन्त्री पाण्डेले पदकले थप जिम्मेवारी बोध गराउने बताउँदै प्रदेश सरकारले जनताका लागि अहोरात्र खट्न जिम्मेवारी बोध गराउँदै उक्त पदक र सम्मान वितरण गरिएको बताए । गणतन्त्र दिवसका अवसरमा प्रदान गरिएको पदक भए पनि उक्त समयमा समय अभावका कारण अहिले कार्यक्रम राखिएको स्पष्ट पारे ।

प्रतिक्रिया