अमेरिकामा दुई जनामा सुँगुरको मुटु प्रत्यारोपण


काठमाडौं – अमेरिकामा दुई जना ‘ब्रेन डेड’ मानिसहरुमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुले गत जुन १६ र जुलाई ६ मा न्युयोर्क विश्वविद्यालयको ल्याङ्गोन टिस अस्पतालमा ‘सेनोट्रान्सप्लान्ट’ भनिने यस्तो प्रत्यारोपण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीको अनलाइन संस्करणले जनाएअनुसार ल्याङ्गोन ट्रन्सप्लान्ट इन्स्टिच्युटका हृदय प्रत्यारोपण विभागका निर्देशक नादेर मोआजमीको नेतृत्वमा चिकित्सकहरुले यसबारे अनुसन्धान गरेका थिए ।

उक्त प्रत्यारोपण प्रक्रिया घण्टौँसम्म चलेको र बिरामीलाई तीन दिनसम्म निगरानीमा राखिएको जनाइएको छ । यसअनुसार हृदयको पहिलो ‘सेनोट्रान्सप्लान्ट’ जुन १९ र दोस्रो ‘सेनोट्रान्सप्लान्ट’ जुलाई ९ मा सकिएको थियो ।

प्रत्यारोपणपछि यी दुबै बिरामीको अवस्था सामान्य रहेको र उनीहरुलाई कुनै अतिरिक्त स्वास्थ्य सेवाको आवश्यकता नपरेको चिकित्सकहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया