को हुन् कांग्रेसबाट दोस्रोपटक उपसभामुखका लागि छानिएकी पुष्पा भुषाल ?


काठमाडौं – आज संसदमा उपसभामुखका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूचीअनुसार नेपाली कांग्रेसकी पुष्पा भुषालले उम्मेदवारी दिँदै छिन् ।

अर्घाखाँची क्षेत्र नं. २बाट निर्वाचित पुष्पा भुसाल नेपाली कांग्रेसका सभासद हुन् ।

२०५६ को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट सहभागी भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । कानुन व्यवसायीसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी शिक्षित एवं वाकपटुता भएकी नेतृका रुपमा परिचित छन् ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भुषाल अध्ययनका साथै समाचार सुन्न विशेष रुचि राख्निछन्। नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी ४७ वर्षीया भुसाल एक छोरीकी आमा हुन् ।  पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा. चोपलाल भुषालकी पत्नी हुन् ।

राजनीतिक पृष्ठभूमीकी भुषालका बुवा २०१५ सालको बी.पी.कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए । २०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए । त्यही अबधिमा आफूले राजनीतिमा लाग्ने अठोट गरेको बताउने भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् । हाल उनी पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव हुन्।

पार्टीमा निरन्तरता, इमान्दारी, कटिबद्धता र जिल्लावासी सँगको निकट सम्बन्ध राख्न सफल भुषाल लुम्बिनी अञ्चलको मात्र नभई नेपाली कांग्रेसकै उत्कृष्ट नेतृका रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् ।

आज उम्मेदवारी दर्ता गरिसकेपछि मतदान भोलि शुक्रबार हुनेछ। स्रोतका अनुसार कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको छ ।

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४  चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उपसभामुखमा उम्मेदवारी दिने र नदिने, दिने भए कसलाई उम्मेदवार बनाउने भन्नेबारे जानकारी दिएको छैन।

प्रतिक्रिया