
स्कटल्यान्डमाथि नेपालको रोमान्चक जित
काठमाडौं- ओपनर आसिफ शेखले ७१ रन बनाउनुका साथै बलहरूले कसिलो बलिङ प्रदर्शन गरेपछि नेपालले बुधबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि ५ विकेटको विजय हासिल गरेको छ।
स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेर कप्तानको निर्णयलाई सही सावित गरिदिए। स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो । १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि ओपनर आसिफले ६२ बलमा ७१ रन बनाएका थिए। उनले १० चौका र एक छक्का प्रहार गरे । आसिफले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। कुशल २७ रन बनाएर आउट भएपछि आसिफले देब खनालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे। देब ४ रन बनाएर पवेलियन फर्किए । त्यसपछि आसिफले उपकप्तान रोहितकुमार पौडेलसँग ४८ रनको साझेदारी गरे।
२०.४ ओभरमा आसिफ आउट हुँदा नेपाल १२५–३ को स्थितिमा थियो। लगत्तै दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रन बनाएर आउट भए। त्यसपछि रोहितकुमार र आदिल अन्सारीले नेपालको इनिङ्स सकेका थिए।
जितसँगै नेपाल एक स्थान माथि उक्लिएको छ। १८ खेलबाट १७ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ। २२ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ। १६ खेलबाट १६ अंकका साथ नामिबिया छैटौँ स्थानमा छ।
त्यसअघि नेपालका बलरहरूले कसिलो बलिङ गरेपछि स्कटल्यान्डका ब्याट्सम्यान खुलेर खेल्न सकेका थिएनन्। नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए। आदिल अन्सारीले १० ओभरमा एक मेडनसहित ३१ रन दिएर तीन विकेट लिए। करण केसीले ९ ओभरमा ३१ रन दिएर विकेट लिए। कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो।
स्कटल्यानडका लागि नवौं नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सबैभन्दा धेरै अविजित ६४ रन बनाए। मैनले ५९ बलमा ७ चौका र एक छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मैनको यो पहिलो अर्धशतक हो। मैनबाहेक मार्क वाटले १७ सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कप्तान रिची बेरिङटन ३ रन बनाएर पवेलियन फर्किदा घरेलु टोली स्कटल्यान्ड ३३–५ को स्थितिमा थियो। लगत्तै मिचेल लेसक पनि चार विकेट गुमाएर पवेलियन फर्किएपछि स्कटल्यान्ड ४६–६ को स्थितिमा थियो। तर, तल्लोक्रममका ब्याट्सम्यान मैनले इनिङ्स उकासेपछि स्टकल्यान्डले सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको हो।



कागजपत्र |
