राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?


काठमाडौं – राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा (पार्वती)ले त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।

मंगलवार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद रावलले त्रिभुवन विश्व विद्यालयको गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएको विषय बाहिर आएकाले यस्तो खालको बेथिति सरकारले रोक्नु पर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘त्रिभुवन विश्व विद्यालय हामी सबैको अवस्थाको धरोहर हो । त्रिविको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षा एउटै प्रश्न दोहोरिएको छ । यो स्नातकोत्तर मात्रै कुरा होइन भर्खरै स्नातक तहको परीक्षामा पनि त्यही घटना दोहोरिएको छ । त्यो बेथिती कहिलेसम्म । हामी नेपाली हाम्रो नेपाल,हाम्रो राष्ट्रिय भाषा नेपाली हो संविधान र कानूनले नेपाली भाषालाई चिन्छ । तर हामीले बढ्ने स्नातकोत्तर र स्नातक अङ्ग्रेजीमा मात्रै आउँछ । उत्तर लेख्दा नेपाली र अङ्ग्रेजी दुबैमा खुल्ला छ । यस्तो हुँदा धेरै विद्यार्थीहरु फेल हुने अवस्था आएको छ । प्रश्नपत्र नेपाली अङ्ग्रेजी दुबै र उत्तर पनि दुबैमा कायम गरियोस भन्ने सम्बन्धित निकायलाई ध्यानाकर्षण दिन चाहान्छु ।’

सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताइन् । उनले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताइन् । देवकोटाले संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जानु पर्ने बताइन् ।

त्यस्तै, सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदीमा तुइनबाट खसेर मानिसहरुले ज्यान गुमाउनु परेको बताइन् । उनले सरकारले तत्काल महाकाली नदीको ११ स्थानमा ओली सरकारले तुइन बनाउने योजना अनुसार तुइन निर्माण कार्य अगाडि बढाउनु पर्ने माग राखिन् ।

सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताए । उनले सरकार भए पनि नभएको जस्तै देखिएको भन्दै ललितपुरको भैसेपाटीको ५ सय मिटर सडक लथालिङ्ग भएर ६ वर्ष देखि हिलाम्मे हुँदा समेत ध्यान नगएको बताए । सांसद देवकोटाले ६ वर्ष सम्म सांसदहरुको कुरा उठाउँदा समेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग गरे।

त्यस्तै सांसद नन्दा चपाईले शिशु अवस्थामा हुर्कंदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताइन् । उनले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताइन् ।

सांसद प्रकाश पन्थले आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताए । उनले भानुभक्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको बताए । सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यिक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै सरकारको प्राथकितामा राख्न आग्रह गरे ।

प्रतिक्रिया