

पलेशा, प्रिन्स र अरुणासहित १३ खेलाडीलाई नगद पुरस्कार प्रदान

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न विधाका १३ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ ।
राष्ट्रिय महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत राखेपले सोमबार विभिन्न विधाका १३ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरि नगद पुरस्कार प्रदान गरेको हो ।
राखेपले पहिलो श्रेणीमा परेका दुई खेलाडीलाई जनही १ लाख ५० हजार, दोश्रो श्रेणीमा परेका चार खेलाडीलाई जनही १ लाख रुपैयाँ र तेश्रो श्रेणीमा परेका सात खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कृत गरेको छ ।
जसअन्तर्गत पारा ओलम्पिकमा भाग लिएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र गत वर्ष विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा पर्न सफल भएका ब्याडमिन्टनका प्रिन्स दहालले पहिलो श्रेणीमा पर्दै नगद १ लाख ५० हजारसहित सम्मानपत्र प्राप्त गरेका छन् । गत वर्ष टोकियो पारालिम्पिकमा पदकबाट चुकेकी पलेशाले एसियन युथ पारा तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।
दोश्रो श्रेणीमा परेका बक्सिङकी नारिका राई, स्वस्तिका तिरुवा, छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सृजना घिसिङ जनही १ लाख रुपैयासहित सम्मान पत्र प्राप्त गरे । बक्सिङकी नारिकाले एशियन युथ च्याम्पियनसिपमा कास्य पदक जित्दा स्वस्तिका र छिरिङले एशियन जुनियर च्याम्पियनसिपमा कास्य जितेका थिए । यस्तै पारा तेक्वान्दोकी सृजनाले गत मार्चमा भएको वल्ड प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।
यसैगरी तेश्रो श्रेणीमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, एथलेटिक्सकी राजपुरा पछाईं, पुष्पा भण्डारी, ट्रायथलनकी सोनी गुरुङ, बसन्त थारु तथा पारा तेक्वान्दोकी रञ्जना धामी र बिशाल गर्वुजाले समान ५० हजार रुपैयाँ र सम्मानपत्र प्राप्तका छन् ।
एथलेटिक्सकी राजपुराले गत जनवरीमा भारतमा भएको दक्षिण एशियाली क्रस कन्ट्रीमा रजत जित्दा पुष्पाले ढाका म्याराथनमा रजत जितेका थिइन् । यस्तैभलिबलकी अरुणाले आफ्नो कप्तानीमा नेपाललाई गत वर्ष पुसमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि दिलाएकी थिइन् । उनको कप्तानीमा नेपालले लगातार दोश्रो पटक सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको थियो ।
यसैगरी ट्रायथलनका सोनी र बसन्तले यसै वर्ष भएको नवौं दक्षिण एशियाली च्याम्पियनसिप २०२२ मा कास्य तथा पारा तेक्वान्दोकी रन्जनाले एशियन गेम्स छनोटमा कास्य र बिशालले युथ एशियन गेम्स २०२१ म कास्य पदक जितेकी थिइन् ।
पुरस्कार प्रदान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्यसचिव टंकलाल घिसिङ्ग, राखेपका उपाध्यक्ष शिव कोइराला, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, मुस्कान खातुन, चरी माया तामाङ, ओलम्पियन संगीना वैद्य र कार्यक्रमका सभापति तथा राखेपका बोर्ड सदस्य चन्द्र बदना राईलगायतको सहभागिता रहेको थियो ।

