कांग्रेस एक्लै कसरी धेरै सीट जित्ने भन्नेतर्फ ध्यान दिनुपर्छ : प्रदीप पौडेल


काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धनबारे समीक्षा गर्नुपर्ने बताएका छन्। गठबन्धनका राम्रा र नराम्रा पक्षमाथि छलफल गरिनुपर्ने उनले बताए।

सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले गठबन्धन नगरी कांग्रेसले धेरै सिट बढाउन सक्छ भने त्यो उत्तम भएको बताए।

‘गठबन्धनका राम्रा-नराम्रा पक्षमाथि छलफल गरौं। गठबन्धन नगरी आफ्नो पक्षमा मत, सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो,’ उनले भने, ‘तर गठबन्धनमा नजाँदा हाम्राविरुद्ध बन्न सक्ने गठबन्धनका कारण निर्वाचन नतिजामा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्छ।’

उनले निर्वाचनको मुखमा पार्टीमा एकता आवश्यक रहेको बताए। सभापति शेरबहादुर देउवाले पार्टीमा उदारता देखाउन जरूरी रहेको उनको भनाइ थियो।

‘सभापतिले उदारता देखाउन जरुरी छ। अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशिलता बुझ्न जरुरी छ,’ उनले भने, ‘कांग्रेसमा सबै पक्षका लागि स्पेस छ भन्ने वातावरण सभापतिले बनाउनु पर्छ। सँगसंगै सभापतिलाई कमजोर बनाएर अहिले कांग्रेस बलियो हुँदैन भन्ने पनि स्वीकार गर्नुपर्छ।’

उनले अब हुने चुनावमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने बताए। पार्टीभित्रका अन्तरविरोधलाई समाधान गर्न सभापतिदेखि पदाधिकारीले भूमिका खेल्नुपर्ने पौडेल बताउँछन्।

उनले सम्भवत मंसिरमा चुनाव हुने भएकोले अब चुनावी रणनीति तय गरेर जानुपर्ने बताएका छन्। उनले चुनावी गठबन्धन गर्ने भए निश्चित मुद्दा तथा उद्देश्य, साझा नीति तथा कार्यक्रम र एजेण्डाका आधारमा गरिनुपर्ने बताए। ‘यो गठबन्धन सार्थक परिणामको लागि भएको हो भनेर आम मतदाताले सजिलै विश्वास गर्न सकुन्,’ उनले भने।

उनले पार्टीभित्रका समिति र विभाग गठन गरिनुपर्ने माग राखेका छन्। भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि नेतृत्व र पूर्णता दिनुपर्ने उनले बताए।

उनले चुनावमा टिकट दिँदा लोकप्रिय उम्मेदवार छान्नुपर्ने बताए। ‘टिकट वितरण गर्दा जित्ने सम्भावना बढी भएका लोकप्रिय उम्मेदवारलाई प्रस्तुत गरिनुपर्छ। विधिवत रुपमा निष्पक्षता कायम गर्दै विचार, सिद्धान्त र राजनीतिक निष्ठाका आधारमा उमेदवार छनौट गर्ने व्यवस्था गरिनुपर्छ,’ पौडेलले भने।

उनले वर्तमान परिवेशको आर्थिक संकटका भ्रम तथा यथार्थकाबारे विज्ञहरुको सहयोगमा सत्य तथ्य सार्वजनिक गर्न पनि माग गरेका छन्। अर्थतन्त्र समस्याग्रस्त देखिएमा त्यसको सशक्त संवोधनको लागि पारदर्शी रुपमा राष्ट्रिय स्तरमा सबल योजना अघि सार्न उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

उनले किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक पाउने व्यवस्था गर्न माग गरेका छन्। मूल्यवृद्धि भएकोले सरकारले नियन्त्रण गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया