प्रेस युनियन महाधिवेशनः अध्यक्षमा शिव लम्सालसहित ४ को चर्चा, अन्यमा को-को ?

बरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल र महासचिवमा नकुल र दिलीपको दाबेदारी


काठमाडौं – नेपाली कांग्रेस समर्थित पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ मा हेटौंडामा हुने भएको छ । महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका लागि युनियन पत्रकारहरुको रस्साकस्सी चल्न थालेको छ । अहिलेसम्मको परिस्थितिलाई मध्यनजर गर्दा माउपार्टी कांग्रेसको महाधिवेशनजस्तै युनियनको महाधिवेशनमा पनि संस्थापन र संस्थापन इतरसमूह देखिने लक्षण देखिएको छ ।

महासंघ नयाँ नेतृत्वका लागि अहिलेसम्म विशेष गरी ५ जना दाबेदार देखिएका छन् । आगामी नयाँ नेतृत्वका लागि पोखरा महाधिवेशनमा अध्यक्षमा पराजित शिव लम्साल प्रमुख दाबेदारका रुपमा देखिएका छन् । लम्साल पोखरा महाधिवेशनमा थोरै मतान्तरले अध्यक्षमा पराजित भएका थिए ।

पत्रकारहरुबीच लोकप्रिय मानिएका लम्साल यसपटकको नयाँ नेतृत्वका लागि सबैभन्दा प्रभावशाली उम्मेदवारका रुपमा मानिएका छन् । उनले संस्थापनइतरको समूहबाट चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन् । कडा र झक्की स्वभावका लम्सालको नेतृत्वबाट विगतमा लामो समयदेखि सुस्ताएको युनियन ब्यूँतने अपेक्षा अधिकांश नयाँ पत्रकारहरुले गरेका छन् । कतिपयले लम्सालकै कारण यसपटकको महाधिवेशन सम्पन्न हुने तयारीमा रहेको जनाउँदै उनलाई आगामी नेतृत्वमा देख्न चाहेको पनि बताएका छन् ।

त्यस्तै वर्तमान उपाध्यक्ष ईश्वरी ओझा पनि अध्यक्षको आकांक्षी बन्दै चुनावको तयारी गरिरहेको जनाइएको छ ।

त्यस्तै अध्यक्षका लागि सरोज अधिकारी र अनिता विन्दु पनि चर्चामा रहेका छन् । अधिकारी र विन्दु दुवै संस्थापनको पक्षबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य पनि अध्यक्षको आकांक्षी देखिएका छन् । आचार्यले चितवनमा केही पत्रकारहरुको भेला गरेर उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्षमा आकांक्षी देखिएका लम्साल, ओझा र आचार्य संस्थापन इतर समूहनिकट हुन् भने विन्दु र अधिकारी संस्थापन निकटका हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा भने लीलाराज खनालको बलियो दाबी रहेको छ । मृदुभाषी खनाल यसपटकको महाधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि बलिया उम्मेदवार हुन् । प्रेम केसीले पनि उम्मेदवारीको तयारी गरिरहेको जनाइएको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षका लागि निरज खतिवडाले पनि घोषणा गरे पनि खनालले उम्मेदवारी दिए उनी पछि सर्ने स्रोतले जनाएको छ ।

त्यस्तै महासचिवमा नकूल अर्याल, खिला कार्की, दिलीप पौडेल र भिष्म ओझाको चर्चा चलिरहेको छ भने कोषाध्यक्षमा मित्र भण्डारी र माधव धितालले दाबेदारी प्रस्तुत गरेका छन् ।

यी उम्मेदवारहरुले सामाजिक सञ्जाल अर्थात् व्यक्तिगत रुपमै मत माग्न थालिसकेका छन् ।

त्यसबाहेक सचिव, कोषाध्यक्ष, केन्द्रीय सदस्यलगायतका पदका लागि पनि पत्रकारहरुले सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया