मधेश प्रदेश सभामा विपक्षी बिनाको बैठक, दुई विधेयक पारित


जनकपुरधाम – मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ ।

जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।

विपक्षी सांसद बैठक बहिष्कार गरेर हिंडेपनि बैठकलाई निरन्तरता दिइएको थियो । बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेश सभा सचिवालय कार्य संचालन सम्बन्धी विधेयक पारित गरेको छ ।

वैठकमा विपक्षी दलका सांसद अनुपस्थित हुँदा पनि सभामुख सरोजकुमार यादवले यो दुबै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए ।

प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र सहभागी सरकार छ । प्रदेश सभामा यी दलहरुको बहुमत छ ।

 

प्रतिक्रिया