कोरोना भाइरसले थलिएको अमेरिकी अर्थतन्त्रका उकास्न १९ खर्बको राहत प्याकेज


अमेरिका – निर्वाचित राष्ट्रपति जो बाइडेनले १९ खर्ब डलर बराबरको नयाँ आर्थिक राहत प्याकेज सार्वजानिक गरेका छन् । कोरोना भाइरसले थलिएको अमेरिकी अर्थतन्त्रका लागि खर्च गरिने उनले बताए । उनले अर्को सातादेखि नै राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नेछन् ।

संसद्‌ले स्वीकृत गरेमा सो प्याकेजको १० खर्ब डलर घरेलु खर्चमा प्रयोग हुनेछ जसमा सबै अमेरिकी नागरिकलाई सीधै १४ सय डलर भुक्तानी गरिने बताइएको छ । त्यस्तै भाइरसविरुद्ध लड्नका लागि ४१५ अर्ब र ससाना व्यवसायहरूका लागि भनेर ४४० अर्ब डलर पनि समावेश छ ।

बाइडेनले यसअघि धेरैपटक कोरोना महामारीलाई जितेरै छाड्ने वचन दिइसकेका छन् जसले अमेरिकाकमा तीन लाख ८५ हजारभन्दा बढीको ज्यान लिएको छ । गत वर्षको चुनाव अभियानमा उनले भाइरस नियन्त्रण गर्ने काममा, राष्ट्रपति ट्रम्पभन्दा प्रभावकारी नीति अपनाउने प्रतिज्ञा लिएका थिए ।

यस्तोमा बिहीबार रातिको भाषणमा उनले आफ्नै आँखाअगाडि मानिसहरु यति ठूलो संकटमा परिरहेको देख्दा यसमा ढिला गर्न नहुने बताएका छन् । ‘यहाँ हाम्रो देशको स्वास्थ्य दाउमा छ । त्यसैले हामीले तुरुन्तै केही गर्नुपर्छ, अहिले नै कदम उठाइहाल्नुपर्छ ।’ बाइडेनले भने । उनले यसका चुनौतीलाई लिएर, प्रगतिदेखि असफलतासम्मका सबै तथ्यबारे इमानदार हुने वचन पनि दिएका हुन् ।

कोरोना नियन्त्रणबारे बाइडेनले प्रस्तुत गर्दै आएको योजनामा उनले २० अर्ब डलर खोप कार्यक्रमका लागि प्रयोग गर्न चाहेका छन् । जसमा ठुल्ठूला खोप केन्द्र स्थापित गर्दै, ग्रामीण क्षेत्रमा पनि टोलीहरूलाई खटाइने बताइएको छ ।

यसबीच दुईवटा प्रभावकारी खोपहरु ट्रम्प प्रशासनको नेतृत्वमा वितरण भइसकेका छन् तर स्वास्थ्य अधिकारीहरूले यसको गति अझ बढाउन आवश्यक रहेको गुनासो गर्दै आएका छन् । अहिलेसम्मको अवस्था हेर्दा अमेरिकामा खोप वितरणको कार्यमा ठूलो असफलता देखिएको बताए । उनको प्रशासनले चाहिँ १०० दिनमा १० करोड खोप वितरण गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै तीव्र परीक्षणका लागि पनि ५० अर्ब डलर छुट्याउने अनि १३० अर्ब डलरचाहिँ आगामी अप्रिलसम्ममा अधिकांश स्कुलहरु खुलाउन मद्दत गर्न प्रयोग गर्ने उनको योजना छ । बीबीसी

प्रतिक्रिया