

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो । दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन भनिएको छ ।
अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेश असार २८ गतेसम्मका लागि हो । सर्वोच्च अदालतले उक्त दिन दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । सोही दिनको छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय हुने छ ।

