
आजको मौसम– यी दुई प्रदेशमा भारी वर्षा, अन्यत्र के होला?
काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान तीनवटा प्रदेशमा पानी परिरहेको छ। प्रदेश–१, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित पानी परिरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकोछ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ। बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।



कागजपत्र |
