कोरोनाबाट अमेरिकामा २० प्रतिशत बढीको मृत्यु, २५ प्रतिशत बढी संक्रमित


काठमाडौं – कोरोनाबाट अमेरिकामा एकैदिन ४ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा ४ हजार ६९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ९ सय ९४ पुगेको छ । जुन संख्या हालसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको २० प्रतिशत संख्या हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा २ लाख ३० हजार ४ सय ५७ नयाँ संक्रमित थपिएसँगै हालसम्म २ करोड ३८ लाख ४८ हजार ४ सय १० जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म १ करोड ४१ लाख १२ हजार १ सय १९ जना कोरोना मुक्त भइसकेका छन् भने अहिलेको अवस्थामा ९३ लाख ३८ हजार २ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्मको अवस्था हेर्दा अमेरिका सबैभन्दा प्रभावित बनेको मुलुक बनेको छ । पछिल्ला दिनमा संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या दैनिक बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घन्टामा विश्वभर ७ लाख ४९ हजार २ सय ६५ नयाँ संक्रमित थपिए भने १५ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वमा ९ करोड ३५ लाख ९ हजार ८ सय ९० संक्रमित पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० लाख १ हजार २ सय ८९ पुगेको छ । ती मध्ये ६ करोड ६७ लाख ९८ हजार ७ सय ३५ जना कोरोनामुक्त भइसकेका छन् भने २ करोड २७ लाख ९ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । र ती मध्ये पनि १ लाख ११ हजार ८ सय ८२ जना गम्भीर प्रकृतिका बिरामी रहेको तथ्यांकमा देखिएको छ ।

प्रतिक्रिया