निर्वाचनकाे माहाैल तयार गर्न स्थायी कमिटीलाई ओलीको निर्देशन


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी नेताहरुलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

माघे संक्रान्ति मनाउनका लागि बोलाइएको अनौपचारिक बैठकमा अध्यक्ष ओलीले भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोधेका थिए ।

उक्त अवसरमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएका थिए । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन । अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै टुंगिएको छैन । त्यसपछि मात्रै अरु भन्न सकिन्छ’, नेम्वाङको ब्रिफिङ थियो ।

निर्वाचन आयोगलाई दोस्रो पटक लेखिएको जवाफपत्रको अन्तर्वस्तुबारे नेम्वाङले ब्रिफिङ गरेका थिए । नेम्वाङले बुधबार मात्रै २१ पृष्ठ लामो पत्र बुझाएका थिए भने आयोगलाई निर्वाचनको तयारी नरोक्न आग्रह गरेका थिए ।

संक्रान्ति मनाउने र अनौपचारिक कुराकानी पनि गर्ने भनेर विहान एघार बजेदेखि शुरु भएको भेटवार्तामा मन्त्रीहरुको समेत सहभागीतामा उक्त भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया