

प्रधानमन्त्रीकाे अपेक्षित अमेरिका भ्रमणबारे कुरा चलिरहेकाे छ : परराष्ट्र प्रवक्ता

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको बताएकी हुन् ।
पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको अपेक्षित अमेरिका भ्रमणको कुरा चलिरहेको छ । भ्रमणमा निमन्त्रणा गर्ने र त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै तयारी पुगेपछि उपयुक्त समयमा जानकारी दिने नै छौँ ।’
प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।

