

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारको निर्णय

काठमाडाैं – सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।
सरकारले राष्ट्रलाई विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान स्वरुप विभूषण दिँदै आएको छ । संविधान दिवसको अवसर पारेर पदक दिँदै आइएको छ । यो वर्षको संविधान दिवस (३ असोज) मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय सरकारले गरेको थियो ।
विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ ले नेपाली नागरिक वा विदेशी नागरिकले स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय काम गरेर आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिए विभूषण प्रदान गर्न सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ ।
जसमा राजनीतिक, सामाजिक, आर्थिक, शान्ति सुरक्षा र प्रशासन, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान, प्रविधि, अन्वेषण, अनुसन्धान, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण व्यक्तिलाई पदक दिन सकिने भनिएको छ । नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री गरी चार प्रकारका पदक प्रदान गर्ने गरिन्छ ।
नेपालरत्न वर्षमा एक जनालाई मात्र दिइन्छ। विभिन्न निकायको हकमा जनशक्तिका आधारमा कोटा निर्धारण गरिएको छ । जसअनुसार नेपाली सेनातर्फ बर्सेनि २५, नेपाल प्रहरीमा २०, सशस्त्र प्रहरी बलमा १२ र राष्ट्रिय अनुसन्धानतर्फ ४ जनालाई पदक दिने व्यवस्था छ ।

