

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौँ – परराष्ट्र मन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली जाँदैछन् । दुई देशबिचको संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्र मन्त्री ज्ञवाली त्यसतर्फ जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारतको भ्रमण गर्नेछन् । संयुक्त आयोगको बैठकले नेपाल–भारतको द्विपक्षीय हित प्रवर्द्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोग–समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषयमा छलफल गर्ने मन्त्रालयले बताएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत, विदेश सचिव, स्वास्थ्य सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् ।
यसैबिच अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरु लीलामणि पौड्याल, सोमलाल सुवेदीसहित १५ जना नागरिक अगुवाले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका छन् ।
उनीहरुले बुधबार विज्ञप्ति जारी गरेर ज्ञवाली काम चलाउ सरकारको मन्त्रीको हैसियतमा भारत जान लागेकाले उनले त्यस्ता सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका हुन् ।

