

अर्थमन्त्रीको आश्वासनपछि विराटनगरका उद्योगीकाे आन्दोलन स्थगित

काठमाडाैं – माग सुनुवाई गर्ने अर्थमन्त्री जनार्द्धन शर्माकाे आश्वासनपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफूहरुले राखेको मागप्रति ध्यानाकर्षण भएको र सम्बोधन गर्ने आश्वासन दिएपछि हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आइतबार विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्माले सात दिन भित्र बजेटको नीतिगत त्रुटी सच्याउने प्रतिवद्धता जनाएकाले आन्दोलन स्थगित गरिएको जनाएका हुन् ।
आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धरासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र मजदुरहरु आन्दोलित हुँदै आएका थिए ।
उनीहरुले जिआई वायर उद्योग, वनस्पति घ्यू तेल उद्योग, सेनेटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रिक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै चरणवद्ध आन्दोलन थालेका थिए ।

