


लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनी कारबाहीमा

काठमाडौं – बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएका २२ बीमा कम्पनीलाई कारबाही गरेको छ । समितिले त्यस्ता कम्पनीलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म जरीवाना गर्ने निर्णय गरेको हो ।
बीमा कम्पनीहरूले आर्थिक वर्ष सकिएको १० महीनाभित्र लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनुपर्ने व्यवस्था छ । त्यसअनुसार बीमा कम्पनीहरूले हरेक वैशाख मसान्तभित्र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनुपर्छ ।
तर, २२ कम्पनीले अझै बुझाएका छैनन् । उनीहरूलाई १०–१० हजार रुपैयाँ जरीवाना तिराउने निर्णय भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनसमेत समयमा नबुझाएर त्यसबेला कारबाहीमा परेका र यसपटक पनि नियम उल्लघंन गरेका कम्पनीलाई भने थप ५ हजार जरीवाना गरिएको छ ।
बीमा कम्पनीहरूले लेखापरीक्षण प्रतिवेदन बुझाउन पहिलादेखि नै ढिलाइ गर्दै आएका छन् । बीमांकीय मूल्यांकन विदेशमा गर्नुपर्ने भएकाले यसमा ढिलाइ हुने गरेको छ ।
विगतमा समिति यस सन्दर्भमा कडा रूपमा प्रस्तुत हुने गरेको थिएन । यसपाली समितिले जरीवानाको निर्णय गरेको छ । कार्यकारी निर्देशक पौडेलका अनुसार ऐनअनुसार कम्पनीहरूलाई जरीवाना गरिएको हो ।

