

‘चुस्त’ बालेनको ‘सुस्त’ सचिवालय !
निर्वाचित भएको एकमहिना बढी भइसक्दा पनि अझै भएन वेभसाइटमा जनप्रतिनिधिको नाम अपडेट

काठमाडौं – बालेन शाह– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख । जो अहिले देशभित्र र बाहिरका हरेक नेपालीले दिनमा एकपटक सम्झने नाम ।
फोहोर व्यवस्थापनको प्रमुख मुद्दासहित निर्वाचनमा उभिएका बालेन्द्र शाह निर्वाचित हुनुअघि र निर्वाचित भइसकेपछि पटकपटक फोहोरका लागि धेरै काम गरे । पटकपटक सिसडोलबासीसँगको वार्ता, देशका प्रमुख व्यक्तिदेखि लिएर शक्तिसम्मको भेटघाटका लागि दौडधूप गरिरहे । आफ्नो काममा लागि रहे । कामका लागि चुस्तता देखाईरहे, तर तिनै बालेनको सचिवालय भने सुस्त देखियो ।
हुन न बालेनको सचिवालयको काम हो वा होइन त्यो अर्कै पाटो हो, तर पनि बालेनले नेतृत्व गरेको महानगरमा जस/अपजस उनले नै भोग्नुपर्दछ ।
मुलुकै संघीय राजधानीको महानगरको नेतृत्व गर्ने जिम्मेवारी काँधमा बोकेर हिँडेका उनको सचिवालय वा मातहत निकायका कारण अपेक्षित यात्रामा बाधा उत्पन्न हुने देखिएको छ ।
प्रविधिको उपयोग गरी मुलुकमै पहिलोपटक कार्यपालिकाको लाइभ गर्ने घोषणा गरेका मेयर बालेन नेतृत्वको महानगर त्यही प्रविधिमा ‘अपडेट’ देखिएको छैन ।
चुनाव जितेपछि कार्यपालिकाको हरेक बैठक ‘लाइभ’ गर्ने मेयर र चुनाव अघि नै ‘एमपी थिएटर’को कल्पना गरेकी उपमेयरले अहिलेसम्म आफूहरुले नेतृत्व गरेको महानगरको आधिकारिक वेभसाइटमा जनप्रतिनिधिहरुको नामावली ‘अपडेट’ गराउन सकेका छैनन् ।
नयाँ नेतृत्वले महानगर सम्हालेको एक महिनाभन्दा बढी भई आगामी आर्थिक वर्षको लागि बजेटसमेत ल्याइसकेको अहिलेको परिवेशमा अहिले यतिबेलासम्म पनि वेभसाइटमा जनप्रतिनिधिको नामावली अपडेट नगर्नु बेवास्ता मात्र नभई जनताप्रतिको धोका समेत देखिएको छ ।
मुलुकको केन्द्रीय राजधानी भएको हुनाले काठमाडौंभित्रका मतदाताले मात्र नभई देशका अन्य नागरिकले पनि महानगरका जनप्रतिनिधिहरुसँग सम्पर्क गर्नुपर्ने हुन्छ । त्यसका लागि महानगरको आधिकारिक वेभसाइटमा नाम नम्बर पाइन्छ भन्ने सोचाइ काठमाडौं महानगरले गलत सावित गरिदिएको छ ।
महानगरको वेभसाइटमा अहिले (शनिबार, ११ असार, २०७९ दिउँसो ४ः०१) बजेसम्म नगरप्रमुख उपप्रमुखसहित ८ वडाध्यक्षका साथै एउटा वडाका सदस्यहरुकोमात्र नाम र सम्पर्क नम्बर रहेको छ । अहिलेसम्म महानगरको साइटमा २५, २९, १५, १३, ११, १०, २ र १ वडाका वडाध्यक्षको मात्र नाम र नम्बर अपडेट गरिएको छ भने २९ नम्बर वडाका वडा सदस्यहरुको पनि नाम र नम्बर अपडेट गरिएको छ ।
महानगरमा रहेका डेढसयभन्दा जनप्रतिनिधिमा मुस्किलले १४/१५ जनाको मात्र नाम र नम्बर अपडेट हुनु पक्कै पनि दुःखकै विषय हो ।
अहिलेसम्म किन ‘अपडेट’ हुन नसकेको हो गर्नुपर्छ वा पर्दैन ? कतै अन्य जनप्रतिनिधिहरुको गोपनियता, सुरक्षाको दृष्टिकोण, चाहना वा अन्य के कारणले अपडेट नगरिएको होला ? यदि केही कारणले अरूको राख्न नमिल्ने भएको भए कतै जानकारी गराउनुपर्ने होइन ? कि अपडेट भएका जनप्रतिनिधिलेमात्रै महानगरको उत्तरदायीत्व वहन गर्ने हुन् ?
त्यो जान्नका लागि २ दिनअघि अर्थात् २०७९ असार ९ गते (दिउँसो १ बजेर १२ मिनेटमा) मेयर बालेन्द्र शाहको नाममा रहेको नम्बरमा सम्पर्क गर्दा अहिलेसम्म त भईसक्नुपर्ने भन्ने उत्तर आएको थियो । ‘मेयर साबको सचिवालय हो, अहिलेसम्म त भईसक्नुपर्ने हो, यदि छैन भने सरलाई कसको नम्बर चाहिएको म तुरुन्तै दिन्छु न त,’ भन्ने उत्तर सुनिएको थियो । नम्बर पनि टिपियो, काम पनि भयो । तर पनि हरेक सेवाग्राहीले जनप्रतिनिधिको नम्बर माग्नका लागि मेयरको नम्बरमा फोन गरेर माग्नुपर्ने अवस्था आउनु पक्कै पनि युक्तिसंगत देखिँदैन होला ।
मेयर शाहकै सचिवालयले पनि जानकारी पाएको दुईदिनसम्म पनि सो नामावली अहिलेसम्म अपडेट नहुनु बालेन सचिवालय पनि ‘प्रविधिमैत्री’ भन्दा पनि ‘पुरातनमैत्री’ नै छ कि जस्तो देखियो । हुन त कुनै व्यवहारिक वा कानुनी समस्या भएर सार्वजनिक गर्न नमिलेको हो भने त्यो अर्कै फरक पाटो भयो, तर जनप्रतिनिधिहरुको नाम र नम्बर अहिलेको आधुनिक प्रविधिको युगमा आधिकारिक वेभसाइटमै पाइयो भने हरेक सेवाग्राहीले मेयर शाहको सचिवालयमा फोन गरेर अन्य वडाका जनप्रतिनिधिहरुको नम्बर माग्नुपर्ने अवस्था अन्त्य हुन्थ्यो कि ???

