देउवाले आज मन्त्रिपरिषद् हेरफेर गर्लान त?


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका कारण मन्त्रिमण्डल हेरेफेर रोकिएको छ। नेकपा (एकीकृत समाजवादी)ले फेरिने मन्त्रीको सूचीसहितको पत्र पठाएपनि हालउसम्म देउवाले मन्त्रिमण्डल हेरफेर गरेका छैनन्।

बिहीबार बिहान एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितसँग संवाद गर्दै प्रधानमन्त्री देउवाले बिहीबार नै मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका थिए। उनले एकीकृत समाजवादी पत्रबमोजिम मन्त्रिमण्डल परिवर्तन गर्ने प्रतिवद्धता जनाएका थिए।

सोही प्रतिवद्धताको आधारमा दिउँसो एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो। बैठकलगत्तै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही घण्टाभित्र मन्त्री फेरबदल हुने दाबी गरेका थिए।

तर, त्यसलगत्तै पुनः देउवासँ संवाद भएको थियो। देउवाले उक्त संवादमा आज मन्त्रिमण्डल हेरफेर गर्न नसकिने बताएका थिए।

‘बिहान उहाँले हुन्छ भन्नुभयो, त्यसपछि हामी बैठक बस्यौँ। तर, दिउँसो सकिएन भोलि हेरेफेर गरौँला भन्नुभयो,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘शुक्रबार चाहिँ हेरफेर हुन्छ भन्नुभएको छ। अब पर्खनेबाहेक अर्को उपाय रहेन।’

बिहीबार बिहान एकचरण तयारी भए पनि अन्तिम समयमा पुनः रोकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र आफ्नै पार्टीभित्रको समीकररण मिलाउनुपर्ने भन्दै मन्त्रिमण्डल फेरबदललाई बिहीबार स्थगित गरेको बालुवाटर स्रोत बताउँछ।

प्रतिक्रिया