मधेशमा युवा महोत्सव हुने


काठमाडौँ- मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ। मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए।

स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको उनले बताए।

प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय तहलाई महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले जानकारी दिए।

महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रका व्यक्तिकाबारे कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको छ।

दोस्रो दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धता र घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको उपसचिव दाहालले बताए । महोत्सवको प्राविधिक सहयोग युवालय नामक संस्थाले गरिने उनले बताए ।

प्रतिक्रिया