

भीमफेदी कारागारका कैदीको मृत्यु

मकवानपुर – मकवानपुरको भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका एक जनाको मृत्यु भएको छ । लागुऔषध कारोबारमा पक्राउ परेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी कारगारमा कैदी जीवन बिताइरहेका हेटौंडा-२ का मिलन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङका अनुसार ७ वर्षका लागि कैदी तोकिएको परियारलाई मंगलबार अचानक छाती पोल्ने र दुख्ने समस्य देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिए लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा लगिएको थियो । स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि परियारलाई थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरेको थियो । उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको प्रहरीको भनाई छ ।
परियारले ७ वर्ष तोकिएको कैद सजायमध्ये ३ वर्ष बिताइसकेका थिए । परियारको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने हालसम्म परियारको पोस्टमार्टम हुन सकेको छैन । परियारको मृत्युका बारेमा भने कुनै खुलासा भएको छैन । परियारको मृत्युको विषयमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ

