विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरले अब काठमाडौंमा राती पार्किङ गर्न नपाउने


काठमाडौं – सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको छ।

सरकारले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्। उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो।

प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ।

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई तोकिएको आधार विमानस्थलमा रात्रिकालीन पार्किङका लागि सोमबार निर्देशन दिइएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।

आइतबारबाट प्रभु हेलिकप्टरका ६ वटै जहाज पोखरा विमानस्थलमा रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्यस्तै श्री एयरलाइन्सका ८ वटा हेलिकेप्टरमध्ये ३ वटा बाहिर बास बस्न पुग्नु पर्नेछ। पालगन्ज विमानस्थलमा सिम्रिक एयरका ५ वटै हेलिकप्टर पार्किङका लागि पुग्नु पर्नेछ।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौँबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्नुपर्ने विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए। उनका अनुसार अल्टिच्यड, हे लिएभरेस्ट, मनाङ, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार तोकिएको छ।

त्यस्तै असार १३ गतेबाट लागू हुने गरी जहाज कम्पनीहरूलाई काठमाडौं बाहिरका विमानस्थलमा आधार तोकिएको छ। हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौँकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौलाले बताए ।

एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।

प्रतिक्रिया